अर्थ

सवैभन्दा बढी सहकारी पीडित सूर्यविनायक नगरपालिकामा



भक्तपुर, ७ असोज । भक्तपुर जिल्लामा सवैभन्दा बढी सहकारी पीडितहरु सूर्यविनायक नगरपालिकामा रहेको बताइएको छ ।

नेपाल प्रेस सोसाईटी सूर्यविनायक भक्तपुरले सहकारी क्षेत्रप्रति बढ्दो अविश्वास र भावी चुनौती विषयमा आइतबार गरेको अन्तरक्रिया कार्यक्रमका जिल्लाका चारवटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी सहकारी संस्थाहरु पनि सूर्यविनायक नगरपालिका क्षेत्रभित्रै रहेको जानकारी गराइयो । जिल्लाका चारमध्ये सूर्यविनायक नगरपालिका क्षेत्रमा दुई सय तीनवटा रहेका छन् । त्यसपछि वढी भक्तपुर नगरपालिकामा एक सय ५६ वटा सहकारीहरु रहेका छन् । त्यसपछि वढी मध्यपुर थिमि नगरपालिका क्षेत्रमा एक सय २८ वटा सहकारीहरु रहेका छन् । सवैभन्दा कम भने चाँगुनारायण क्षेत्रमा रहेका छन् । त्यहाँ ७१ वटा मात्रै सहकारी संस्थाहरु रहेका छन् ।  

भक्तपुर जिल्ला सहकारी संघका सचिव रामप्रसाद कासुलाले भक्तपुरमा सवैभन्दा बढी सहकारी सूर्यविनायक नगरपालिका क्षेत्रमा रहेको र सवैभन्दा वढी पीडित पनि सूर्यविनायक नगरपालिका क्षेत्रमै रहेको जानकारी गराए । उनले भने, ‘जिल्लाका चारवटा नगरपालिकाहरु मध्ये सवैभन्दा वढी पीडित भयो भनेर गुनासो सूर्यविनायक नगरपालिका क्षेत्रवासीहरु आउने गरेका छन् । यहाँ पनि अरु ठाउँहरुमा जस्तो बचत फिर्ता भएन भनेर नै गुनासो गर्न आउनेहरु छन् ।’ 

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीको सिद्धान्त अनुसार सञ्चालनमा रहेका कुनै पनि सहकारीहरु समस्यामा नरहेको स्पष्ट पारे । सहकारीलाई पैसा संकलन गर्ने र अन्य क्षेत्रमा लगानी गर्ने बदनियतका साथ सञ्चालन भएका सहकारी सञ्चालकहरुका कुनियतका कारण जनता पीडित भएको उनले बताए ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी पीडितहरु नठगिउन भनेर नगरपालिकाले ऐन, कानुन, नियमावलीहरु वनाउँदै आएको जानकारी गराए । नगरभित्र सञ्चालनमा रहेका सहकारीहरुमध्ये समस्याग्रस्त सहकारीहरुको पहिचान गरी घोषणा गर्दै आएको उनले बताए । पीडितहरुलाई उनीहरुको बचत फिर्ता गराउने प्रक्रियामा रहेको पनि उनले बताए ।