राजनीति

संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै होइन : अध्यक्ष दाहाल



काठमाडौँ, ७ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाकारुपमा प्रयोग गरेको बताएका छन् । उनले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाए ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा सोमबार भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले सरकार फेरबदलका लागि बाहाना नपाएपछि कांग्रेस-एमालेले संविधान संशोधनको एजेण्डा फ्याँकेको बताए । वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको बताए ।

अध्यक्ष दाहालले भने, ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन । त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ । कांग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसद्‌मा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’