समाचार

बागमतीमा बेपत्ता युवकको शव  फेला



काठमाडौँ, ८ असोज । रौतहटमा जितिया पर्व मनाउन साथीहरूसँग सोमवार बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झन्डै १९ घण्टाको खोजीपछि आज बिहान शव फेला परेकाे छ ।

स्थानीय माधव नारायण नगरपालिका ८ रजावाडा गाउँ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानीय राजेन्द्र सहनीको छोरा वर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थल बाट डेढ किलोमिटर दक्षिण गढो स्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको हो । 

सोमबार बिहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा. रौतहटसहित सुरक्षा बेश भलोहियाबाट १३ जना, इलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरू सहितको टोलीले आज बिहान ६ बजे नदीबाट शव बाहिर निकालेको थियो ।

घटनास्थलको मुचुल्का पश्चात् मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाइएको छ ।