अर्थ

साना उद्यमीको अधिकारमा सरकारले ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल



काठमाडौँ, ९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।

आज थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षा गर्ने बताएका हुन् ।  

साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अगाडि बढन नसक्ने उनले बताए । साना उद्यमीको अधिकारको विषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड छ । 

अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा उनको धारणा छ । अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने बताए ।