मनोरञ्जन

मह जोडीद्वारा ‘महजात्रा’को घोषणा



काठमाडौँ, १० असोज । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले दश वर्षपछि ‘महजात्रा’को घोषणा गरेको छ । 

मह जोडीले मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ ‘महजात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका हुन् ।

मनोरञ्जन क्षेत्रमा दर्शकलाई हास्य–व्यंग्यमार्फत हँसाउँदै आएको मह जोडीको प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेतलगायतको प्रस्तुति रहनेछ ।

प्रहसनको मुख्य विशेषता हास्य–व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना तथा सांस्कृतिक कुरितीहरुलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुनेछ ।