राजनीति

विपद् प्रभावितको खोज तथा उद्धारमा सरकार गम्भीर भएन: उपमहासचिव बस्नेत



काठमाडौँ, १३ असोज । नेकपा (माओवादी केन्द्र) ले केन्द्रका उपमहासिचव शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको सर्वदलीय बैठकपछि उनले  विपद्बाट प्रभावितहरूको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताए । माओवादी केन्द्रको तर्फबाट सरकारको पहलकदमीको सुस्तताबारे धारणा राखिएको पनि बस्नेतले बताए । यसपटक मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भएपनि सरकार पूर्वतयारीमा चुकेको उनको भनाइ थियो । खोज र राहतको काममा केन्द्रित हुनुपर्ने र घाइतेको उपचारसँग सम्बन्धित विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने कुरा राखेको बस्नेतले बताए । जनता प्राकृतिक प्रकोपको पीडामा परेका बेला सत्ता र प्रतिपक्ष नभई एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए ।

‘सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको कुरा सर्वदलीय बैठकमा भन्यौँ । विपद् बाजा बजाएर आउँदैन तर यो पटक जल तथा मौसम विज्ञान विभागले राम्रो पूर्वानुमान गरिदिएको थियो । लगातार तीनदिन भारी वर्षा हुने पूर्वानुमान गरिदिएको थियो । त्यसको आधारमा पूर्वसूचना त जारी गर्‍यो । पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरू तदारुकताका साथ गर्न कमी गरेको महसुस गरेका छौँ, सरकारसँग कुरा राख्यौँ,’ बस्नेतले भने, ‘खोज र उद्धारका लागि तदारुकताका लागि आग्रह गरेका छौँ । तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय राम्रो गर्नुपर्छ । सबै राजनीतिक दलहरूसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छौँ ।’