अर्थ

बिमा दाबी भुक्तानी छिटो गर्न निर्देशन



काठमाडौँ, १४ असोज । नेपाल बिमा प्राधिकरणले विपद्का बेला परेका दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।

बाढी तथा पहिरोबाट भएको क्षतिको बिमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आइतबार बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त निर्देशन दिएका हुन् । बिमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन्, अनावश्यक झमेला दिन्छन् भन्ने भ्रम हटाउन पनि कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने भएको उनको भनाइ छ । हालको विशेष परिस्थितिमा बिमा दाबी बिस्तारै थपिँदै जान सक्ने र बाढी तथा पहिरोका कारण बिमालेख हराएको पनि हुन सक्नेतर्फ ध्यान दिन पनि बिमा कम्पनीहरूलाई प्राधिकरणले भनेको छ ।

अध्यक्ष सिलवालले भने, ‘हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बिमा दाबी भुक्तानी यथासम्भव छिटो गर्नुहुन आग्रह गर्दछु । हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानीसम्बन्धी कागजातमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिसलगायत कागजात आवश्यक नपर्ने व्यवस्था मिलाइदिनू,’ अन्य कागजातहरूको सूचीसमेत छोटो पार्न र बिमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ ।