राजनीति

विपत्ति ‘साझा राष्ट्रिय पीडा’ हो : प्रधानमन्त्री ओली



काठमाडौँ, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गरेका छन् । उनले विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता पनि जनाएका छन् । 

शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारबाट तयारी भएको तर त्यसले धान्न सक्नेभन्दा ठूलो विपद् सामना गर्नुपरेको बताए । ‘यस प्रकारको परिस्थिति आइपुग्ला, यत्रो क्षति होला भन्ने थिएन,’ उनले भने, ‘यस तहको तयारी पक्कै पनि हाम्रो थिएन । प्राकृतिक विपत्तिका लागि तयारी नभएको भने होइन ।’

जल तथा मौसम विज्ञान विभागले असोज ७ मै पूर्वसूचना दिएअनुसार सरकारले तयारीका लागि तल्ला निकायसम्म जानकारी गराएको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यही सूचनाका आधारमा रात्रिबस नचलाउन र सतर्कता अपनाउन सूचना प्रवाह गरिएको पनि उनले बताए । सबै मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीलाई दायाँबायाँ राखेर गरिएको पत्रकार सम्मेलनमा ओलीले विषम परिस्थितिमा राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न राजनीतिक दल, तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, संघसंस्था र नागरिकसँग अपिल गरे । ‘विपत्तिले कुनै राजनीतिक रंग, पेसा, व्यवसाय छुट्याएर मर्का पारेको हुँदैन । यो साझा राष्ट्रिय पीडा हो,’ उनले भने ।

विपद्लगत्तै अमेरिका भ्रमण छोट्याएर किन नफर्किएको भनेर आफूमाथि भइरहेको आलोचनाका सन्दर्भमा भने प्रधानमन्त्री ओलीले आफू आउने तयारीमै रहेका बेला यता पानी परेको बताए । ‘११ गते पानी पर्‍यो । १२ गते अमेरिका छाडेको हुँ । प्लेनमा समय लाग्यो,’ उनले भने । गृहमन्त्रीको भूमिकालाई लिएर भइरहेको आलोचनाका सन्दर्भमा पनि ओलीले बचाउ गरेका छन् । ‘मान्छे बगाएर लग्यो, बचाउन सकिएन भन्ने रिपोर्ट आयो, गृहमन्त्रीले त्यही भन्नुभयो,’ उनले भने, ‘प्रारम्भिक जानकारी कहिलेकाहीं फरक पर्न सक्छ । यसलाई अयोग्यताका रूपमा लिनु हुँदैन ।’