काठमाडौँ, १८ असोज । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ ।
कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू‐राजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राख्नुभयो । अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नु परिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रूपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठुलो चिन्ताको विषय भएको उहाँको भनाई थियो । साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरू चाल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
मन्त्री डा राणाले भन्नुभयो “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारणहरू विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्को यस्तै समस्या बनेको छ । एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् । हामी अझै पनि सन् २०३० सम्म पूरा गर्नुपर्ने विश्वव्यापी दिगो विकासका लक्ष्यहरू पूरा गर्न सक्ने अवस्थामा देखिएका छैनौँ । ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले पनि हामी एसियाली देशहरू भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।”
साथै मन्त्री डा राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै एकता र सद्भाव कायम गर्न सहयोग पुगेको धारणा पनि राख्नुभयो । उहाँले भन्नुभयो “मानव सभ्यतासँगै विकास भएको खेलकुदले मानिसहरूबिच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशहरूका बिच मित्रताको वातावरणलाई प्रवर्धन गर्न सहयोग पुर्याएको छ ।”
प्रतिक्रिया दिनुहोस्