अर्थ

बाढी पहिरो क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने देखियो : मन्त्री दाहाल



काठमाडौँ, १८ असोज । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले हालै गएको बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको बताएका छन् ।

आज प्रतिनिधि सभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि सो रकम लाग्ने अनुमान गरिएको बताए ।

वीपी राजमार्ग मात्रै १२ किलोमिटर भत्किएको, अन्य पुल तथा राजमार्ग र व्यक्तिका घर समेतको पुनर्निर्माणका लागि ठुलो धनराशि खर्च लाग्ने बताएका हुन्  । त्यसका लागि सरकारले कोष बनाएर १ अर्ब रुपैयाँ राखेको मन्त्रीहरूको एक महिनाको तलब पनि कोषमा जाने निर्णय गरेको, कांग्रेस एमालेका सांसदहरूको पनि केही रकम कोषमा दिने निर्णय भएको समितिमा जानकारी गराए ।

मन्त्री दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू खुलाउन धमाधम काम भइरहेको भाडामा निजी निर्माण उपकरणहरू लिएर पनि काम भइरहेको जानकारी दिए ।