राजनीति

जनतालाई सेवा प्रदान गर्ने कुरामा कुनै कमजोरी हुन नदिन मन्त्री गुरुङको निर्देशन



काठमाडौँ, १९ असोज । संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्बी सुब्बा गुरुङगले नेपाल टेलिकमको देशभरको सम्पूर्ण टेलिकम सेवाहरुको संचालनको अवस्थाको अनुगमन गर्न सकिने एकीकृत नेटवर्क अपरेसन सेन्टरमा आकस्मिक निरीक्षण गर्नु भएको छ ।

उक्त अवसरमा उहाँले केहि दिन अघि आएको भिषण बाढीका कारण अबरुद्ध सेवा तत्काल संचालन गर्ने सबै सरोकारवाला र सहभागी टिमलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । हालको सेवा प्रवाहको अवस्था, केहि विशेष कारण मर्मत हुन नसकेका लिंकहरुको बैकल्पिक बिधिबाट सेवा सुचारु गरिएका प्रणालीको अबस्थाको जानकारी लिनु भयो । विद्युत प्राधिकरण तथा सडक पूर्वाधारसँग भर पर्नु पर्ने विषयमा गम्भीर चासो राख्दै मन्त्री गुरुङले आवश्यकता अनुसार सम्बन्धित सरोकारवालाहरुलाई समन्वय गर्न सधै तत्पर रहेको उल्लेख गर्नुभयो । रात दिन खटेर सेवा सुचारु गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै उहाँले उनीहरुको कामको उच्च मुल्यांकन गरेको बताउनुभयो ।

अझै पनि छिटफुट स्थानमाविद्युत, सौर्य उर्जाका कारण सेवा प्रवाहमा समस्या रहेको उल्लेख गर्दै मन्त्री गुरुङले उक्त समस्या यथाशिघ्र समाधान गर्न र आवश्यक समन्वय र सहकार्यका लागि मन्त्रालय सधै साथमा रहेको प्रतिवद्धता जनाउनुभयो । उहाँले जुनसुकै अवस्था र समयमा अप्ठ्यारो परेको विषय गाठो फुकाउन तत्पर रहेको प्रतिबद्धता समेत उल्लेख गर्नु भयो । मन्त्री गुरुङले देशभर संचालनमा रहेका सिस्टम तथा लिंकहरुको अवस्था, २४ घण्टा नेटवर्क अनुगमनमा रहेका समस्याहरु, जनशक्ति, साधन श्रोत उपलब्धताको अवस्था एवम टेलिकमको सेवाको गुणस्तर र सेवा प्रवाह उच्चतम् ध्यान दिई गुनासोमुक्त सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

मन्त्री गुरुङले नेपाल टेलिकमको देश भर सेवा प्रबाहका लागि संचालनमा रहेका दुर संचार उपकरणहरु, अप्टिकल फाइबर, माइक्रो वेभ तथा स्याटेलाइट लिंक मार्फत दुर संचार उपकरण जोडी संचालनमा ल्याईएको नेटवर्क, बैकल्पिक रुटहरुको व्यवस्था, तिनीहरुको अबस्था, सेवा प्रवाहमा काम गर्ने निकायमा रहेको जनशक्तिको अवस्था, श्रोत साधनको अवस्था लगायतका बिषयमा प्रत्यक्ष सहभागी भई सरोकारवालाहरु संग साक्षात्कार गर्नुभयो ।

वर्षा र बाढीका कारण समस्या भएका दुर संचार पुर्बाधारहरुको अब बाँकी छिटफुट कार्य सम्पन्न गर्न कहाँ कहाँ समस्या छ र मन्त्रालयको समन्वय, सहकार्य र सहयोगको विषयमा गम्भीर चासो राख्दै उहाँले नेपालीहरुका महान चाडबाडहरुमा सामान्य अवस्था भन्दा आहिलेको अवस्थामा सेवा ग्राहीहरुको आवत जावतमा व्यापक वृद्धि हुने भएकोले सेवा ग्राहीलाई कुनै खालको समस्या अनुभूत हुन नदिन नेटवर्क तथा सिस्टमहरुलाई संचालन गर्ने बन्दो बस्ति मिलाउन, बिशेष संयन्त्र बनाएर चुस्त रुपमा संचालन गर्न निर्देशन दिनुभयो ।