राजनीति

जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत : नारायणकाजी श्रेष्ठ



काठमाडौँ, १९ असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए ।

आज संवाद डबलीमा ‘नेपाल–भेनेजुएला मैत्री सङ्घ’ को घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरूको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको बताए । उनले कुनै पनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत रहेको बताए ।

आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिविद्धताबारे अन्य देशहरूले भेनेजुएलाबाट सिक्नुपर्ने समेत बताउँदै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त पारेको समेत बताए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरू देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले संविधानका प्रावधानहरूलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे ।

संघका अध्यक्ष नहेन्द्र खड्काले नेपाल र भेनेजुएलाबिचको सम्बन्धलाई जनस्तरमा पुर्याउन संघले भूमिका खेल्ने बताए । चौतर्फी घेराबन्दीबिच भेनेजुएलाका जनताले आफूले रोजेको शासन र नेतृत्वको रक्षाको लागि कसैसँग सम्झौता नगरेको बताउँदै खड्काले त्यसबाट अरूले पाठ सिक्नुपर्ने बताए ।