काठमाडौँ, २४ असोज । चालु आर्थिक वर्षको साउन र भदौमा ७ अर्ब ३९ करोड रुपैयाँको बिजुली भारतमा निर्यात भएको छ । साउनमा ४ अर्ब १९ करोड र भदौमा ३ अर्ब २० करोड रुपैयाँको बिजुली भारतमा निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
जब कि गत आर्थिक वर्षको साउनमा २ अर्ब १४ करोड र भदौमा ३ अर्ब ५३ करोड रुपैयाँको बिजुली निर्यात भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको बिजुली भारतलाई बिक्री गर्दै आएको छ । भदौमा मात्रै ५ लाख ३ हजार मेगावाट आवर बिजुली निर्यात भएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन) लाई बिक्री गरिरहेको छ ।
एनभीभीएनले उक्त विद्युत् हरियाणा र विहार राज्यमा बिक्री गर्दै आएको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्ने स्वीकृति पाएको छ । यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई २३५.५ मेगावाट बिजुली बिक्री गर्दै आएको छ । यस्तै बिहार राज्यलाई मध्यकालीन सम्झौताअनुसार १२५.०४ मेगावाट बिजुली बिक्रीका लागि अनुमति पाएको छ । बाँकी प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री हुँदै आएको प्राधिकरणले जनाएको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप बिजुली निर्यात गर्न सकिने प्राधिकरणको भनाइ छ ।
बिहारमा मात्रै १४ वटा जलविद्युत् आयोजनाको बिजुली निर्यात स्वीकृति पाइएको प्राधिकरणले बताएको छ । ११.६४ मेगावाटको दोर्दी– १, १४.४५३ मेगावाटको मायाखोला, ९.९९१ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक,१९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड बिक्री गर्ने अनुमति पाएको छ ।
हरियाणा राज्यमा ७५ मेगावाटको लिखु–१, ५०.८९ मेगावाटको लिखु–२, २६.१९ मेगावाटको दोर्दी खोला र ८३. ४२ मेगावाटको सोलु खोला (दूधकोशी ) आयोजनाको १०९.६१ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ । यसका अलावा प्राधिकरणले २३.२८ मेगावाटको त्रिशूली, १४.५५ मेगावाटको देवीघाट, ६७ मेगावाटको मर्स्याङ्दी, १४० मेगावाटको कालीगण्डकी ए, ६८ मेगावाटको मध्यमर्स्याङ्दी, ५१ मेगावाटको लिखु चौथोको बिजुली बिक्री गर्दै आएको छ । यस्तै २१.४४ मेगावाटको चिलिमे, २२.८० मेगावाटको सोलुखोला, २४.२५ मेगावाटको काबेली बी १, १९.४० मेगावाटको तल्लो मोदी, ३२.७० मेगावाटको अपर कालिंगढ, ३७.३० मेगावाटको अपर चमेलिया, २४.२५ मेगावाटको अपर दोर्दी ए र ३४.९२ मेगावाटको अपर बलेफी ‘ए’ को बिजुली बिक्री गरिरहेको छ ।
केही समयदेखि बिहारमा बिजुली निर्यात रोकिएको समेत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विहारको सिस्टम र नेपालको सिस्टमसँग पूर्णमा सिंक्रोनाइज हुँदैन, आइसोलेटेड सिस्टम भएकाले निर्यात बन्द भएको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा बिजुली निर्यात गर्न पनि पुग्दैन । र, विहारको सिस्टम पनि आइसोलेटेड भएकाले निर्यात बन्द छ ।’
अहिले दैनिक करिब ३ सय मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिनेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरुलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । असोजमा आएको बाढीपहिरोले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्याउँदा करिब ८ सय मेगावाट बिजुली उत्पादन ठप्प छ । २ हजार मेगावाट बिजुली उत्पादन भइरहेको प्राधिकरणको भनाइ छ । त्यसमध्ये १७ सय मेगावाट आन्तरिक खपत र ३ सय मेगावाट निर्यात भइरहेको प्राधिकरणको भनाइ छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्