काठमाडौँ, २४ असोज । नेपालमा पछिल्लो दुई महिनामा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको मसला भित्रिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालले मसला विभिन्न देशबाट आयात गरेको हो । भन्सार विभागको तथ्यांकअनुसार बितेको दुई महिनामा नेपालमा १ करोड ४३ लाख ७९ हजार रुपैयाँको २७ हजार १२४ केजी मरिच भित्रिएको छ । सोही अवधिमा २ करोड ६९ लाख ४३ हजार रुपैयाँको दालचिनी नेपाल भित्रिएको छ । उक्त रकममा ९७ हजार केजी दालचिनी नेपालले आयात गरेको विभागले जनाएको छ ।
पछिल्लो दुई महिनामा नेपालमा ५ करोड ८३ लाख ८१ हजार रुपैयाँको ७७ हाजर ८२७ केजी ल्वाङ नेपाल भित्रिएको छ । सोही समयमा ६० लाख ३७ हजार रुपैयाँको जाइफल नेपालले आयात गरेको छ । गत साउन र भदौ मा नेपालले ७२ लाख ३९ हजार रुपैयाँको ८ हजार ४२४ केजी जाइफल आयात गरेको देखिन्छ ।
नेपालले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७ करोड ११ लाख ५४ हजार रुपैयाँको २२ हजार ६५३ केजी सुकुमेल आयात गरेको छ । उक्त समयमा ९ करोड ४३ लाख ४१ हजार रुपैयाँको ७ लाख ५८ हजार ४२९ केजी धनिया नेपालमा भित्रिएको छ ।
बितेको दुई महिनामा नेपालले ६५ करोड ११ लाख ४४ हजार रुपैयाँको १५ लाख ८३ हजार ९२१ केजी जिरा नेपालले आयात गरेको देखिन्छ । उक्त समयमा ३ करोड ४२ लाख ४४ हजार रुपैयाँको सुठो (सुकेको अधुवा) पनि नेपाल भित्रिएको छ ।
नेपालले विभिन्न मसला भारत, भियतनाम, इजरायल, थाइल्यान्ड, चीन, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, ग्वाटेमाला, बुल्गेरिया, इटाली, युक्रेन, साउदी अरेबिया, नामिबियालगायत देशबाट आयात गर्दै आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न देशबाट नेपालमा ९ अर्ब ५ करोड १८ लाख ५ हजार रुपैयाँको मसला भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्