काठमाडौँ, २६ असोज । उपसभामुख इन्दिरा रानाले बडादसैँले सामाजिक, सांस्कृतिक एकता कायम राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।
बडादसैँ–२०८१ को अवसरमा शुभकामना आज शुभकामना सन्देश दिँदै उनले दसैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास व्यक्त गरिन् । उपसभामुख रानाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृक्तिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्न दसैँको विशेष महत्त्व रहेको बताएकी छन् ।
“दसैँ एकता र पुनर्मिलनको पनि चाड हो । मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक–सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गका रूपमा छन्”, शुभकामना सन्देशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्