राजनीति

महानगरपालिकाले गौशाला धर्मशाला कब्जा गरेको भन्दै आपत्ति



काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा सक्रिय विभिन्न सामाजिक तथा धार्मिक सङ्घ संस्थाहरूले विरोध गरेका छन् ।

साथै महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशाला कब्जा गर्न गएकोमा घोर भर्त्सना गरेका छन्।

आज मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ संस्थाहरूबिच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले सो कदमको विरोध गरेका हुन् ।

पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदाय माथि मात्रै नभएको भन्दै यो हिन्दुहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको ठहर उनीहरुले गरेका छन्।

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित सो कार्यक्रममा उनीहरुले विश्वभरबाट आउने हिन्दु श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गो पालन हुँदै गरेको र झन्डै एक सय जना मिर्गौला रोगी को निःशुल्क डाइलेसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएर कोषका सदस्य सचिवले भूमाफियाबाट ठुलो आर्थिक लाभ प्राप्त गरेको आरोप लगाएका छन् ।

विमर्श कार्यक्रममा उपस्थित पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण सामान्य कुरा नभएको र यसका पछाडि हिन्दु धर्ममा आस्था राख्ने माथि ठुलो षड्यन्त्रको एउटा सानो सुरुवात भएको बताए । पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिसनरीहरूको भर्ती केन्द्र बनेको पराजुलीको भनाई रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दुहरूले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सैह्य नहुने चेतावनी दिए ।