Banner News

आर्थिक गतिविधि सुस्त हुँदा थुप्रियो विदेशी मुद्रा सञ्चिति



काठमाडौँ, ३० असोज । लगातार बढिरहेको रेमिट्यान्स आप्रवाह र बढ्न नसकेको आयातका कारण मुलुकमा विदेशी मुद्रा थुप्रिने क्रमले गत भदौमा पनि निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले विदेशी मुद्रा (विनिमय) सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको देखाएको हो । यो हालसम्मकै उच्च हो ।  पछिल्लो १५ महिनायता विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ रेकर्ड बनाउँदै आएको छ ।

आर्थिक वर्ष ०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने दाबी राष्ट्र बैंकको छ । यो राष्ट्र बैंकले तय गरेको वार्षिक लक्ष्यभन्दा बढी हो । यस वर्ष कम्तीमा सात महिनालाई वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य राष्ट्र बैंकको छ । विदेशी मुद्रा सञ्चिति बढेसँगै मुलुकको शोधनान्तर बचत र चालु खाता बचत पनि लगातार बढिरहेको प्रतिवेदनले औंल्याएको छ ।

अर्थतन्त्रका बाह्य सूचक सबल भए पनि आर्थिक गतिविधि चलायमान हुन सकेको छैन । राजस्व संकलन, पुँजीगत खर्चलगायत समग्र सरकारी वित्तमा अपेक्षित सुधार हुन नसक्दा बाह्य क्षेत्र सबल भएको लाभ मुलुकले पाउन नसकेको विज्ञ बताउँछन् । ‘रेमिट्यान्स लगातार बढिरहे पनि र आयात बढ्न नसक्दा विदेशी मुद्रा सञ्चिति थुप्रिएको छ,’ अर्थशास्त्री समीर खतिवडाले भने, ‘मुलुकमा रहेको विदेशी मुद्रा सञ्चितिले आर्थिक वृद्धिको बाटो समात्न सहयोग पुग्ने भए पनि निजी क्षेत्रको खस्किएको आत्मविश्वासमा सुधार हुन नसक्दा आर्थिक गतिविधि चलायमान बन्न सकेको छैन ।’ अहिले सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाउन भरपूर प्रयास गर्नुपर्ने खतिवडाको भनाइ छ ।

‘गत वैशाखमा सरकारले लगानीसम्बन्धी नीतिगत सुधार गरेको तथा कानुन परिमार्जन गरेको प्रत्याभूति दिलाउन तेस्रो लगानी सम्मेलनलाई लक्ष्य गर्दै अध्यादेशमार्फत केही विधेयक पारित गरेको थियो,’ उनले थपे, ‘यद्यपि ती विधेयकले अझै अन्तिम रूप पाएर कार्यान्वयनमा आएका छैनन् । सरकारको यस्ता गतिविधिले निजी क्षेत्रको आत्मविश्वास बढ्न नसकेको हो ।’ विदेशी मुद्रा सञ्चितिलगायत सूचक सबल भएको बेला सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाएर लगानी विस्तारका लागि प्रोत्साहन गर्नुपर्ने खतिवडाको सुझाव छ ।

गत असारको तुलनामा गत भदौमा विदेशी मुद्रा सञ्चिति ५.५ प्रतिशतले बढेको छ । यसले गएको दुई महिनामा थप १ खर्ब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिएको देखाउँछ । गत असारसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

‘लामो समयदेखि उपलब्ध मौद्रिक र बाह्य क्षेत्र अनुकूलताको उपयोग निर्माण, पुनर्निर्माण र उद्यमशीलता प्रवर्द्धन गर्न ढिलाइ गर्नुहुँदैन,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने । मौद्रिक र बाह्य क्षेत्रका सूचकांकले आर्थिक वृद्धिको बाटो समात्न अझै सहयोग पुग्ने उनको भनाइ छ ।

मूल्यवृद्धि नियन्त्रित रहेको, विदेशी विनियम सञ्चिति बढ्ने क्रममै रहेको, रेमिट्यान्स आप्रवाह राम्रो रहेको, ब्याजदर न्यून रहेकोलगायत सूचकले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको देखाउने जानकार बताउँछन् । यस्तो अवस्थामा निजी र सरकारी क्षेत्रको साधन परिचालन प्रभावकारी ढंगले गर्न सके आर्थिक वृद्धिमा टेवा पुग्ने उनीहरूको भनाइ छ ।

गत भदौमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा यो ५५ अर्ब १० करोडले बचतमा थियो । ‘गत भदौ मसान्तसम्म चालु खाता ४९ अर्ब ६९ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोडले बचतमा थियो,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनले भनेको छ, ‘अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालु खाता गत भदौमा ३७ करोड १ लाखले बचतमा छ ।’

दुई महिनामा २ खर्ब ६३ अर्ब रेमिट्यान्स

गत साउन र भदौमा रेमिट्यान्समार्फत २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेको हो । गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको थियो । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

गत साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४ सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५ सय ८३ रहेको छ । गत वर्षको सोही अवधिमा ७४ हजार ४ सय ५५ ले अन्तिम श्रम स्वीकृति र ३२ हजार ४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

घट्यो मूल्यवृद्धि

गत भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत थियो । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.०३ र गैरखाद्य तथा सेवा समूहको ३.१९ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धि क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत थियो ।

गत भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८०, तरकारीको ९.८४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ र फलफुलको ४.९४ प्रतिशतले बढेको छ । तर, मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१, मदिराजन्य पेय पदार्थको ६.७६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ । तर, बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ ।

गएको दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ अर्ब ५६ करोड (०.१ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.८ प्रतिशतले बढेको छ ।

गत साउन र भदौमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको प्रतिवेदनले औंल्याएको छ । कान्तिपुर