समाचार

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै



काठमाडौँ, २ कार्तिक । औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको कार्य सुरु गरिएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा  अनुसन्धान सुरु गरेको हो । डेल्टामेथ्रिन, अल्फासाइपरमेथ्रिन र लैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको छ । 

तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताए ।  

“माउथ एस्पिरेटरको माध्यमबाट औलो प्रभावित क्षेत्रबाट लामखुट्टे संकलनको कार्य गरिरहेका छौँ”, उनले भने, “संकलन गरिएका लामखुट्टेलाई ल्याबमा लगेर परीक्षण हुन्छ । एकपटकमा १५० लामखुट्टेमा अध्ययनको कार्य हुन्छ । यो प्रक्रियामा २६ घण्टा लगाएर ल्याब परीक्षणको कार्य पूरा हुन्छ ।”

अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उनको भनाइ छ । विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विष्लेशण गरी विषादीले काम गरे/नगरेको निर्यौल गरिने अधिकृत जोशीले बताए ।

उनका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन सुरु गरिएको छ । एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ । दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ ।

भारतमा नौ प्रजातिका लामखुट्टेले औलो सार्ने भए पनि नेपालमा गरिएको अध्ययनमा एनोफिलिस फ्युवियाटिलिस, एनोफिलिस म्याकुलाटस कम्पलेक्स र एनोफिलिस एन्युलरिस नामक तीन प्रजातिका लामखुट्टेले औलो सार्ने गरेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने औलो रोगबाट कैलाली र कञ्चनपुर उच्च जोखिममा छन् ।