राजनीति

नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको छ : उपप्रधानमन्त्री सिंह



काठमाडौँ, ४ कार्तिक । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताएका छन् ।

आज मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले सहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामहरूलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे ।

उपप्रधानमन्त्री सिंहले भने– ‘अहिले केही भएको छैन, के गरे यिनीहरूले भन्छ तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ नि त । यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु । तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले सहरहरू व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ । यो सहरहरूलाई सेफ गर्नको लागि गर्नुपर्ने कामहरू त्यसको लागि पोलिसीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौँ ।’