काठमाडौँ, ७ कार्तिक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सयदिने कार्यकालमा पुरानै काम प्रस्तुत गरे ।
पहिल्यै निर्माण थालेको धरहरा सञ्चालनमा ल्याउने र निर्माण भइसकेका भवनमा मन्त्री आवास सार्ने कामतिर उनी केन्द्रित बने । तर धरहराको पूर्ण रूपमा निर्माणको काम सकिएको छैन । ‘इलेक्ट्रिकल’ काम अझै बाँकी छन् । भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवासमा १८ जना मन्त्री र राष्ट्रिय सभाका उपाध्यक्षलाई सारिएको मन्त्रालयले बताएको छ । अन्य मन्त्रीलाई पनि सार्ने तयारी छ । यस्तै त्रिवेणी सुस्ता झोलुंगे पुल सञ्चालनमा ल्याइएको छ ।
सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन पटकपटक म्याद थप्दा पनि अझै अधुरै छ । ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भए पनि ५ वर्ष पुग्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । काम नसकिएपछि चौथो पटक गत चैत २० देखि ०८१ चैत १८ सम्मका लागि म्याद थपिएको छ ।
छिटो भवन निर्माणको काम सक्न मन्त्रीले दबाब दिइरहेको दाबी गरे । तर प्रगति सुस्त गतिमा छ । तर मन्त्री सिंहले केही दिनअघि आफ्नो कार्यकालबारे पत्रकार सम्मेलन गर्दै सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐन ल्याउन जोड दिएको सुनाए । नीति निर्माणका लागि मन्त्रालय गम्भीर रहेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्