पोखरा, ८ कार्तिक । मुटुरोगको उपचारका लागि चटपट बेचेर सूर्यदर्शन सहकारीमा जम्मा गरेको रकम फसेपछि पोखरा नागढुंगाकी ५० वर्षीया सुशना केसी बेचैन छिन् । सहकारी ठगीमा संलग्न पक्राउ पर्लान् र आफ्नो बचत फिर्ता पाउँला भनेर आस गरेकी उनलाई रास्वपाको आन्दोलनले झनै बेचैन बनाएको छ ।
‘यहाँ आएर आन्दोलन गर्नुको साटो पीडितको बचत फिर्ता कसरी गर्न सकिन्छ भन्नेतिर सोचे हुन्थ्यो,’ बुधबार ठेला गाडामा चटपट बेचिरहँदा सामुन्नेमा भइरहेको रास्वपाको प्रदर्शनलाई हेर्दै उनले भनिन्, ‘सहकारी ठगीको आरोप लागेकालाई छोड्नुपर्छ भनेर नाराबाजी गर्दा हामी पीडितको आलो घाउमा नुन–चुक छर्किएजस्तो भएको छ ।’
रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गत शुक्रबारदेखि कास्की प्रहरीको हिरासतमा छन् । गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रबन्ध निर्देशक रहेका बेला सहकारीबाट सारिएको रकम अपचलन गरेको आरोप उनीमाथि छ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्याएर हिरासतमा राखिएपछि उनको पार्टीले शनिबारदेखि पोखरामा प्रदर्शन गरिरहेको छ । राजनीतिक प्रतिशोध साँधिएको भन्दै सभापतिको रिहाइको माग रास्वपाले गरेको छ ।
सहकारीपीडित बचतकर्तालाई न्याय दिनुपर्ने समयमा रास्वपाका नेता र कार्यकर्ताले लामिछानेलाई अनुसन्धानको दायराबाट उम्काउन अभियान चलाएको भन्दै पीडित बचतकर्ता असन्तुष्ट छन् । सूर्यदर्शन बचतपीडित संघर्ष समिति र सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति प्रकाशन गरी रास्वपाको दबाबमा लामिछानेमाथिको अनुसन्धान र अदालत प्रभावित नहोस् भन्ने माग गरेका छन् । देशैभरिका समस्यामा रहेका सहकारीमा पीडित बचतकर्ताको ठगीमा जोडिएका जोसुकै भए पनि निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
पहिले आफ्नो समस्या सुनाउन हारगुहार गर्दा, ज्ञापनपत्र बुझाउँदा सहयोग नगरेको स्मरण गराउँदै सूर्यदर्शन बचतपीडित संघर्ष तथा तदर्थ समिति पोखरा र सहकारी बचतपीडित संघ कास्कीले रास्वपाको अहिलेको प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको जनाएका छन् । ‘आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी टोलटोलमा भाषण गरिएको छ, पार्टी सभापति पक्राउ परेपछि घैंटोमा घाम लागेजस्तो देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सहकारीपीडितको विषयमाथि फेरि एउटा पार्टी र त्यसका नेताले राजनीति गरेको अनुभूति भइराखेको छ ।’
लामिछाने पक्राउ परेपछि म्याद थपका लागि अदालत पेस गर्ने क्रममा आइतबार रास्वपा कार्यकर्ता र सहकारीपीडित दुवै प्रदर्शनमा उत्रिएका थिए । सहकारीपीडितको प्रदर्शनमा पोखरा–२ विन्ध्याबासिनी निवासी आशा केसी चार वर्षको छोरा पिठ्युँमा बच्चा बोकेर टन्टलापुर घाममा नारा लगाइरहेकी थिइन् । ‘हामीलाई न्याय दे, सहकारीमा राखेको हाम्रो रकम फिर्ता दे,’ उनी चिच्याउँदै थिइन् । आशाले सूर्यदर्शन सहकारी संस्थामा आफ्नो ६४ लाख रुपैयाँ बचत रहेको बताइन् । घर बेचेर नालामुखस्थित सूर्यदर्शन सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उनी अहिले डेरामा बस्न बाध्य भएकी छन् । ‘हामीले बचत गरेको पैसा रवि र जीबीले लगे भन्छन् । जसले लगे पनि हाम्रो पैसा हामीले पाउनुपर्यो,’ उनले भनिन् ।
रास्वपाले काठमाडौं, चितवनलगायत जिल्लाबाट कार्यकर्ता ल्याएर पोखरामा प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा पोखरेलीको साथ नपाएपछि रास्वपाका नेता तथा कार्यकर्ताले घरघरै पुगेर समर्थन जुटाउने प्रयास गरिरहेका छन् । रास्वपा नेताहरू पोखराका मुख्य बजार र वरपरका वडामा मंगलबारदेखि घरदैलो गरिरहेका छन् । केही नेता पोखरामै रहेका छन् भने केही काठमाडौं–पोखरा गरिरहेका छन् ।
रास्वपाले सहकारीपीडितलाई पनि व्यक्तिगत र सामूहिक रूपमा भेटेर प्रदर्शनमा बोलाइरहेको छ । यसलाई सहकारीपीडित भड्काउन खोजेको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ । सोमबार संघर्ष समितिसँग रास्वपा नेताको टोलीले छलफल गरेको थियो । उक्त छलफलमा रास्वपा सरकारमा हुँदा समस्या नसुनेको सहकारीपीडितले बताएका थिए । रास्वपा प्रवक्ता मनीष झाले उक्त कुरा स्वीकार गर्दै अब सँगै आन्दोलन गर्न प्रस्ताव राखेका थिए ।
संघर्ष समितिका संयोजक किरण श्रेष्ठले गत माघ २२ मा लामिछानेविरुद्ध किटानी जाहेरी दिएपछि पनि पीडितसँग रास्वपाले एकपल्ट पनि सोधपुछ नगरेको छलफलमा बताएका थिए । ‘उल्टै जाहेरी परेकै छैन भन्ने ढंगबाट कुरा आयो,’ उनले भने, ‘दुई–दुईपल्ट सरकारमा हुँदा हाम्रो कुरा नसुन्ने, अहिले प्रतिपक्षमा आएपछि गोर्खा मिडियाको ६५ करोडले ८७ अर्बलाई छायामा पार्छ भन्नु मिल्दो कुरा भएन ।’
मित्रमिलन सहकारीपीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेलले घरदैलो र अन्तर्क्रियाका नाममा रास्वपाका नेता तथा कार्यकर्ताले प्रलोभन दिने र धम्क्याउने कार्य गरिरहेको बताए । गत माघमा सहकारीपीडितले जाहेरी दिँदा तत्कालीन उपप्रधान एवं गृहमन्त्री लामिछानेले नै धम्की दिएको उनको भनाइ थियो ।
रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले पीडितलाई धम्की दिन वा भड्काउन नभई सर्वसाधारणको समस्या बुझ्न सांसदको टोलीले घरदैलो गरेको दाबी गरे । समस्या समाधानमा पहल गरिदिन माग गर्दै पीडितले २०८० जेठ १४ मा एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । रास्वपा सभापति लामिछाने २०८० पुस ६ मा पोखरा आएका बेला पनि पीडित बचतकर्ताले ज्ञापनपत्र बुझाएका थिए । भोलिपल्टको कार्यक्रममा कालो झन्डा देखाउने तयारी गरेका पीडित बचतकर्तालाई लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको र पीडितकै साथमा रहेको बताएर थुमथुम्याएका थिए ।
सूर्यदर्शनको वित्तीय विश्लेषण प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको समेत नाम आएपछि पीडितले २०८० माघ २२ मा प्रहरीमा उनीविरुद्ध जाहेरी दिएका थिए । माघ ९ मा कांग्रेस सभापति शेरबहादुर देउवा, माघ ११ मा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, चैत ४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र चैत २३ मा एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा आएका बेला पनि पीडितहरूले ज्ञापनपत्र बुझाएका थिए ।
पोखरामा क्रियाशील विभिन्न संघसंस्थाले सोमबार विज्ञप्ति प्रकाशित गरी विधि, पद्धति र प्रक्रियालाई स्वीकार गर्न आग्रह गरेका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल, एड्भोकेसी फोरम, इन्सेक, गैरसरकारी संस्था महासंघ, उच्च अदालत बार, मानवअधिकार रक्षक संरक्षण र प्रवर्द्धन केन्द्र, मानवअधिकार एलायन्स गण्डकी, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, चिल्ड्रेन नेपाललगायत संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा भीड खडा गरेर अपराध अनुसन्धानमा खलल पुर्याउने काम रोक्न रास्वपालाई आग्रह गरिएको छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्