समाचार

अवैध सामानसहित ६ भारतीय पक्राउ



धनगढी, ८ कार्तिक । कैलालीमा साढे चार लाख बढिको अवैध सामानसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली गरि ल्याइएको सामान बरामद गरेको हो ।

भारतसँग जोडिएका नाकाबाट भन्सार छली गरी ल्याइएको चार लाख ६५ हजार ८१० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । अवैध सामानसहित भारतको लखिमपुर खिरी तिकुनिया गाउँ ३० वर्षीय गुल्ला सिंह लगायतका ६ जनालाई समेत पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीय ईब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खान रहेका छन् । उनीहरुलाई कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

बरामद सामानमध्ये टीकापुर नगरपालिका-८ को बटनपुरबाट मात्र तीन लाख ९० हजार बराबरको सुर्तीन्य पदार्थ, जुत्ता, चप्पल, माला, साइकल लगायतका सामान रहेको छ भने धनगढी उपमहानगरपालिका-४, १२ र १५ बाट ७४ हजार ९८० रुपैयाँ बराबरकोकपडा र बच्चाका खेलौनाहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।