अर्थ

थालमा ढुंगा राखेर सहकारीपीडितको प्रदर्शन



पोखरा, ९ कार्तिक  । पोखराका सहकारीपीडित महिलाले थालमा ढुंगा र चम्चा राखेर बिहीबार विरोध प्रदर्शन गरेका छन् । सहकारीमा राखेको रकम फिर्ता नपाएपछि खानका लागि ढुंगाबाहेक केही भएन भन्दै उनीहरूले बचत फिर्ताको माग गरेर मुस्ताङ चोकमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही र आफूहरूको बचत फिर्ता हुनुपर्ने उनीहरूको माग छ । सूर्यदर्शन बचतपीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचतपीडित संघ कास्कीको आयोजनामा विरोध प्रदर्शन भएको हो । सहकारीको रकम ठगीसम्बन्धी कसुर अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न रास्वपाले सडक संघर्ष थालेपछि सहकारीपीडितहरू पनि आन्दोलनमा उत्रिएका हुन् । रास्वपाको आन्दोलन शुक्रबारबाट भने काठमाडौंकेन्द्रित हुने प्रवक्ता मनीष झाले बताए ।