राजनीति

मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन : राष्ट्रपति पौडेल



काठमाडौँ, १२ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र र संविधानको संरक्षण गर्न मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लागिरहने बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आत्रेय गोत्रीय पौडेल कुल पूजा व्यवस्थापना समितिले आइतबार गरेको अभिनन्दन कार्यक्रममा उनले आफूले पदभन्दा निष्ठा, आदर्श र नैतिकतालाई सधैँ ठूलो मानेकाले राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पारे । उनले लोकतन्त्र र संविधानको संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन र राष्ट्रहितमा सधैँ काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति पौडेलले भने, ‘मलाई पदभन्दा पनि ठूलो निष्ठा आदर्श र नैतिकता लाग्छ । लामो राजनीतिक जीवनकालमा कुलको इज्जत जोगाएर राखेको छु । खोट लगाउने कुनै काम गरेको छैन र गर्ने पनि छैन । मलाई मुलुकले दिएको अभिभावकीय जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नेछैन । जीवनभर निष्ठा, आदर्श र नैतिकता जोगाएर कुलको मात्र नभई नेपालीकै इज्जत राख्नेछु ।’