ललितपुर, १३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्नुपर्नेमा जोड दिएका छन् ।
पाटन संग्राहलयको २७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्दै एकपटक नेपाल नआएका मानिसलाई खुला सम्पदाको देश जानुपर्छ भन्ने भावना जगाउनुपर्ने बताए । उनले नेपालको आकाश सुरक्षित, सुचारू र गतिशील छ भन्ने पनि प्रत्याभूति गर्नुपर्ने दायित्व रहेको भन्दै मन्त्रालय त्यसतर्फ तदारुकताका साथ लागिरहेको प्रष्ट पारे ।
मन्त्री पाण्डेले भने, ‘हाम्रा गौरवहरू सङ्ग्रहालयभित्र मात्रै सीमित छैनन्, हामीसँग हिमाल, पहाड तराई विविधतापूर्ण प्रकृति छ, संसारभर रहेका आठ हजारभन्दा माथि उचाइका चुलीहरू रहेका छन्, यी विषय संसारभर परिचित गराउनुछ ।’
भूकम्पले क्षति पुर्याएका संरचना जस्ताको तस्तै नयाँ बनेको बताउँदै मन्त्री पाण्डेले पुरातात्विक हिसाबले हाम्रो कला संस्कृतिलाई नवनिर्मित संरचनाले निरन्तरता दिएको बताए । संस्कृति महाशाखा प्रमुख सुरेश सुरज श्रेष्ठले विविध विषयका सङ्ग्रहालयलाई समेट्ने र व्यवस्थित बनाउनुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय ऐनको प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्