काठमाडौँ, १३ कार्तिक । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आगामी वर्षभित्रमा नेपालका सम्पूर्ण नागरिकको घरमा विद्युत् पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले उज्यालो नेपाल अन्तरगत सवै नागरिकलाई विद्युतको पहुँच पुर्याउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । ‘आगामी वर्षभित्रमा सवै नागरिकलाई विद्युतको पहुँच पुर्याउने गरी सरकार अगाडी बढेको छ’, उहाँले भन्नुभयो, ‘भौगोलिक विकटताका कारण विद्युत् विस्तार हुन नसकेको स्थानमा वैकल्पिक उर्जा प्रवद्र्धनको माध्यमबाट बायोग्यास, सोलार, मिनिग्रीड, गोवरग्यास, सौर्य उर्जा लगायतको माध्यमबाट विद्युतीय सेवाको विकास र विस्तार गर्नुपर्छ ।’ जनतालाई अध्यारोबाट उज्यालो अनुभुति गराउन सरकार तथा सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरुको अहम भूमिका रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उज्यालोको लागि मात्र विद्युत हैन, कार्वन तथा विद्युत विक्रि गरेर देशको अर्थतन्त्रलाई सुदृढ र सम्पन्न बनाउनुपर्छ ।’
अबको ११ वर्षभित्रमा ३५ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । उक्त उत्पादनबाट १० हजारभन्दा बढी भारतलाई विक्रि, १३ हजारभन्दा बढी आन्तरिक खपत गर्ने तथा अन्य थप बंगलादेशलाई सात–आठ हजार मेगावट विक्रि गर्ने गरी तयारी भइरहेको जानकारी गराउँदै उहाँले सवैको साथ नै सफलताको सुत्र भएकाले सोही अनुसार कार्य गर्न निर्देशन समेत दिनुभयो ।
उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले सोलार, चुलो लगायतका बैकल्पिक उर्जामा केन्द्रले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । विज्ञ, कर्मचारी तथा निजी क्षेत्रका व्यक्तिहरुको सुझावका आधारमा नै सरकार चल्ने प्रतिवद्धता जनाउँदै उहाँले गरिवको सारथीको रुपमा उज्यालो नेपाल निर्माणमा सरकार लागि परिरहेको जानकारी गराउनुभयो । आगामी मंसिरसम्ममा सरकारी २५० मेगावट तथा निजी क्षेत्रबाट ३०० गरी पाँच सय ५० मेगावट विद्युत् थप हुने बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष आरपी विच्छाले दुर्गम क्षेत्रमा टुटी र लाल्टिनको अन्त्य गर्न बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले खेलेको भूमिका अतुलनीय तथा राज्यको शीरलाई उचो बनाउन सफल भएको उल्लेख गर्नुभयो । आगामी दिनमा लक्ष्य पुरा गर्न व्यवसायीक भन्दा फरक ढंगले अगाडी बढ्न जरुरी रहेको औंल्याउँदै उहाँले नयाँ सोच अनुसार मिथेन, हाइट्रोजन लगायतका कार्यहरुमा विशेष रुणनीति बनाई अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । विद्युत् खरिद नहुने अवस्थालाई विशेष ध्यान दिई त्यसको बैकल्पिक योजना अहिलेदेखी नै बनाउनुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव सुरेश आचार्यले नविकरण उर्जाले नयाँ प्रविधिको विकास र विस्तारसँगै आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । दुर्गम स्थानमा साना तथा लघु सौर्य प्रणालीको माध्यमबाट ग्रामिण क्षेत्रका साना था मझौला उद्योगहरु सञ्चालन गर्न सफल भएकोमा केन्द्रलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा कुशल गुरुङले जनवायु परिवर्तन र त्यसको समाधानमा केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । वातावरणीय वायोग्यासलाई विकास र विस्तार गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले ‘विन–विन’को अवधारणा लिई दिगो विकासको लक्ष्य पुरा गर्न सवै एक ढिक्का भएर लाग्नुपर्ने धारणा राख्नुभयो । सौर्य उर्जा, वायोग्यास, हाइट्राजनलगायतका क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको जोड थियो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशनक नवराज ढकालले २०८०–८१ मा ८६ प्रतिशत भौतिक प्रगति र ८४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताउनुभयो । केन्द्रले एक वर्षमा गरेका कार्यहरुको उल्लेख गर्दै उहाँले साथै नवीकरणीय ऊर्जा सम्बन्धी विभिन्न अध्ययन, अनुसन्धान तथा विकास, प्रदेश सरकार र स्थानीय तहको क्षमता अभिवृद्धि सम्बन्धी क्रियाकलापहरु लगायतका क्रियाकलापहरु समेत गत आर्थिक वर्षमा सम्पन्न भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘२०८०/८१ मा दुइवटा बजेट उपशिर्षकहरु मध्ये वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तर्फ ८६ प्रतिशत भौतिक प्रगति तथा ८४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ भने नेपाल सरकार र विकास साझेदार संस्थाहरुको स्रोतमा आधारित राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमतर्फ ८१ प्रतिशत भौतिक प्रगति तथा ७८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गत आवमा १० वटा १,३१२ किलोवाट लघु तथा साना जलविद्युत आयोजना, ८,३०६ घरेलु सौर्य प्रणाली, ३९० किलोवाट पिक सौर्य मिनीग्रिड आयोजना, २६,२५६ विद्युतीय चुलो, ४,५०८ फलामे सुधारिएको चुलो, ३०४२ घरायसी बायोग्यास प्लान्ट, ३४९ सौर्य खानेपानी तथा सिंचाइ परियोजना, ३११ संस्थागत सौर्य विद्युत प्रणाली, १२ वटा ठूला क्षमताका बायोग्यास परियोजना सम्पन्न भएका छन् । नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन मार्फत ५,४२,८६६ मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण गरी कार्बन व्यापार मार्फत २८ लाख ५० हजार अमेरिकी डलर आम्दानी भएको छ । स्वच्छ विकास संयन्त्र अन्तर्गत ८ वटा आयोजनाहरुबाट हालसम्म कूल ६० लाख मेट्रिक टन कार्बन उत्सर्जन घटाई कार्बन व्यापार मार्फत करिव ३५।२७ मिलियन अमेरिकी डलर ९ करीब४ अर्ब ७५ करोड० आम्दानी भइसकेको छ भने यी कार्बन परियोजनाको सञ्चालनबाट विष्यमा थप आम्दानी हुने सुनिश्चित भएको छ ।’
केन्द्रको स्थापना कालदेखी हालसम्म भएका प्रगतिहरुको विवरण सार्वजनिक गर्दै उहाँले केन्द्रले हालसम्म देशको करीब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याएको उल्लेख गर्नुभयो । कूल विद्युत पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करीब ६ प्रतिशत रहेको जानकारी गराउँदै उहाँले नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका साथै जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४० हजार भन्दा बढी रोजगारी सिर्जना भएको बताउनुभयो । बजेट अभावका कारण पेक्षित रुपमा काम गर्न नसकिएको उल्लेख गर्दै उहाँले कानुनी अड्चन, स्रोतको अभाव, विपदका घटना लगायतका समस्याहरु रहेको बताउनुभयो । केन्द्रले आफ्नै भवन बनाउने तयारी गरिरहेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्