काठमाडौँ, १४ कार्तिक । इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी)हरू लामो समयदेखि विवादमा रहेको बक्यौता तिर्न तयार देखिएका छन् । यो रकम करिब ३ अर्ब ५० करोडभन्दा बढी रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
आईएसपीहरुले वार्षिक कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क सरकारलाई दिनुपर्छ । तर, सपोर्ट तथा मर्मतबापतको आम्दानीमा आरटीडीएफ र रोयल्टी नलाग्ने अडान सेवाप्रदायकको थियो ।
गैरदूरसञ्चार सेवामा रोयल्टी र आरटीडीएफ नलाग्ने भन्दै वर्ल्डलिंक कम्युनिकेसन्सले सर्वाेच अदालतमा रिट दायर गरेको थियो । सर्वाेच्चले गत वैशाख ३० गते वर्ल्डलिंकको रिट खारेज गर्दै उक्त रकम तिर्नुपर्ने फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएसँगै इन्टरनेट कम्पनीहरुले बक्यौता तिर्नुपर्ने भएको हो ।
पूर्णपाठ सार्वजनिक भएसँगै आफूहरु बक्यौता तिर्ने प्रक्रियामा जाने इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जनाएको छ । आइस्पानका अध्यक्ष सुधिर पराजुलीले कम्पनीहरुलाई सरकारले सहजीकरण गरिदिनुपर्ने बताए ।
“सर्वाेच्चको पूर्णपाठ आएको छ । अब रोयल्टी र आरटीडीएफ तिर्ने प्रक्रिया अघि बढ्छ । नौ वर्षदेखि विवादका कारण रोकिएको उक्त रकम एकैपटक कम्पनीहरुले तिर्न सक्दैनन्, त्यसैले हामीले किस्तासुविधाको माग गरिरहेकाछौँ, आइस्पानका अध्यक्ष पराजुलीले भने ।
प्रतिक्रिया दिनुहोस्