राजनीति

गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न अध्यक्ष साहको माग



बारा, १८ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन विशेष पहलका लागि सरकारसँग माग गरेका छन् ।

महागढीमाई नगरपालिका बरियारपुरमा रहेको गढीमाई मन्दिरमा शनिबार आजपा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध यस मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका हुन् । अध्यक्ष साहले त्यसका लागि सबै पक्षबाट सहयोग जरूरी रहेको धारणा राखे ।

“विश्व प्रसिद्ध गढीमाईलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्छ भन्ने हाम्रो माग छ । यसका लागि सबैले पहल गर्न आवश्यक छ । सरकारले यसमा विशेष पहल गर्नुपर्छ”, उनले भने ।  

विश्वप्रसिद्ध गढीमाईको पाँच वर्षीय मेला आगामी मङ्सिरमा लाग्दैछ । स्थानीयस्तरमा यसको तयारी तीव्र रूपमा भइरहेको छ । लाखौँ श्रद्धालु सहभागी हुने यस मेलाको व्यवस्थापनलगायत काममा पनि सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा साहले जोड दिए ।