काठमाडौँ, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ ।
सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिइएको हो । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्