राजनीति

पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे



काठमाडौँ, २३ कार्तिक । सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् । उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ । अन्तमाः सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।”

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।