समाचार

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित



काठमाडौँ, २८ कार्तिक । बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको छ ।

तुवाँलोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । ती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।