राजनीति

लोसपाले बोलायो स्थानीय तहका जनप्रतिनिधिको भेला



काठमाडौँ, ५ मंसिर । स्थानीय तहको उपनिर्वाचनमा भाग नलिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय जनप्रतिनिधिको भेला बोलाएको छ ।

लोसपा नेपालले मंसिर ५ गते स्थानीय जनप्रतिनिधिहरूको भेला काठमाडौँमा बोलाएको छ । २०७९ को स्थानीय चुनावमा लोसपा नेपालबाट १६ जना पालिका प्रमुख, १२ जना उपप्रमुख, १०३ जना वडा अध्यक्ष, एक जना जिल्ला समन्वय समितिका सभापति र दुई जना उपसभापति निर्वाचित भएका थिए ।

स्थानीय तहमा भइरहेको कामकाजको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा भएका काम तथा दलित, विपन्न वर्गका लागि अघि सारिएका योजनाबारे भेलामा छलफल हुने लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले बताए । लोसपा नेपालले उपनिर्वाचनमा भाग नलिए पनि त्यसको बारेमा विचार विमर्श गर्ने बताउँदै झाले मंसिर १६ हुन गइरहेको स्थानीय तहको उपचुनावमा लोसपा नेपालको भूमिकाबारे पनि जनप्रतिनिधिहरूसँग छलफल गरेर एउटा निर्णय लिने जानकारी दिए ।