अर्थ

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै



काठमाडौँ, ७ मंसिर । गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ ।

साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो । परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ । बूढीगण्डकीको बाँध क्षेत्र चुमनुव्री गाउँपालिकाको वडा नम्बर ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको ३ मा पर्ने मुख्य लगानीकर्ता कम्पनी साहसले जनाएको छ । लगानीकर्ताले परियोजना सम्पन्न गरी ०८७ सालको पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । परियोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सकिइसकेको, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति र वित्तीय व्यवस्थापन अन्तिम चरणमा रहेको जनाइएको छ ।

बूढीगण्डकी जलविद्युत् परियोजनाको वार्षिक क्षमता १८६७.७७ गिगावाट हुनेछ । यसैगरी मुख्य सुक्खा समयमा ३२०.३० गिगावाट, सामान्य सुक्खा समयमा २४३.४३ गिगावाट र वर्षा समयमा १३०४.०४ गिगावाट उत्पादन क्षमता हुने जनाइएको छ । परियोजनाको प्रतिमेगावाट खर्च २० करोड ५३ लाख रुपैयाँ रहेको बताइएको छ । परियोजना निर्माणपछि ३० वर्षका लागि विद्युत् खरिदबिक्री दर सुक्खायाममा १०.५५ प्रतियुनिट, सामान्य सुक्खायाममा ८.४० प्रतियुनिट र वर्षायाममा ४.८० प्रतियुनिट पर्नेछ ।