राजनीति

चितवन प्रहरीले लियो रवि लामिछानेसहित १० जनाविरूद्ध पक्राउ अनुमति



काठमाडौँ, ८ मंसिर । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले लामिछानेसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए । जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको एसपी मिश्रले बताए । चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका थिए ।

पूरक जाहेरी दर्तापछि प्रारम्भिक अनुसन्धानपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको  हो । साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए। अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन् ।


साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका थिए । यसअघि गत असोज ८ गते प्रहरीले साहरा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।


सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।