समाचार

घट्न थाल्यो डेंगु सङ्क्रमण



काठमाडौँ, ८ मंसिर । चिसो मौसम सुरु भएसँगै डेंगु सङ्क्रमण घट्न थालेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मंसिर ३ गतेसम्म नेपालमा कुल ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसमध्ये १३ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ । देशका ७७ जिल्लामध्ये हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

जबकि गत वर्ष पुसको दोस्रो सातादेखि कार्तिक ५ गतेसम्म डेंगु सङ्क्रमितको संख्या २२ हजार ८२ थियो । करिब एक महिनापछि अर्थात् मंसिर ३ गते यो संख्यामा १० हजार ६१८ थपिएर ३२ हजार ७०० पुगेको हो । कार्तिक ५ गतेसम्म ११ जनाको मृत्यु भइसकेको थियो भने मंसिर ३ गतेसम्म थप दुई जनाको मृत्यु भइ कुल मृतक संख्या १३ पुगेको छ ।

ईडीसीडीका अनुसार असोज ६ गतेसम्ममा १२ हजार ६४४ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । कार्तिक ५ गतेसम्म आइपुग्दा ९ हजार ४३८ जना डेंगु सङ्क्रमित थपिए भने थप ५ जनाको मृत्यु भइ कुल मृतक संख्या ११ जना पुग्यो ।