समाचार

मानव बेचबिखन गर्न लागेको आरोपमा एक जना पक्राउ



चितवन, ८ मंसिर । मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ ।

पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विभिन्न स्थानका युवतीहरुलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको हो ।

थिङले युवतीहरुको पासपोर्ट सङ्कलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरुलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।

थिङ्को नियत खराब भएको थाहा पाएपछि युवतीहरुले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए । थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरिएको छ ।