राजनीति

धनराज गुरुङ दोषी देखिए कारबाही हुन्छ : महामन्त्री शर्मा



सिरहा, ९ मंसिर । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभापति धनराज गुरुङ सहकारी ठगी प्रकरणमा देखिए गुरुङमाथि कारबाही हुने बताएका छन् ।

लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धान भइरहेको बताएका हुन् । कुनै पनि घटनामा अनुसन्धानका क्रममा पक्राउ पर्नु सामान्य विषय भएको भन्दै उनले कुनै पनि कांग्रेस नेता पक्राउ पर्दा आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए । उनले अनुसन्धानका क्रममा सबै पार्टीका नेताहरू विगतमा पक्राउ परेको र यसमा होहल्ला गर्न नहुने धारणा राखे ।

बीआरआई वा अरु विदेशी ऋण थुपारेर विकास योजना ल्याउने पक्षमा कांग्रेस नरहेको पनि शर्माले बताए । अनुदानको योजना भने स्वीकार गरिने उनले बताए । महामन्त्री शर्माले मधेश सरकारको नेतृत्वको सबालमा पुनर्विचार हुनसक्ने पनि बताएका छन् । उनले अब मधेशम कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल हुने जानकारी दिए ।