समाचार

मानव-वन्यजन्तु द्वन्द्व घट्यो



कञ्चनपुर, ९ मंसिर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी आएको छ ।

छेकबार लगाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आवासीय क्षेत्र र खेतबारीमा जङ्गली जनावर आउन छाडेका हुन् । निकुञ्ज क्षेत्रबाट छिर्ने बँदेल, निलगाई, चित्तललगायत जनावरले खेतबारीमा लगाएको सागसब्जीदेखि अन्नबाली खाएर स्थानीय किसानलाई हैरान पारेका थिए ।

सुनदेवी उपभोक्ता समितिले ताल, राष्ट्रिय प्रकृति संरक्षण कोष, वातावरण मध्यवर्ती सामुदायिक वनको सहयोगमा छेकबार लगाएको  हो । तारजालिमा प्रतिमिटर दुई हजार दुई सयका दरले खर्च भएको जनाइएको छ ।