राजनीति

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन : एमाले



काठमाडौँ, ९ मंसिर । काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ ।

यही मंसिर ७ गते काठमाडौँको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीका अनुसार महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त भएको छैन । उनले भने, ‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन,’ ‘हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’ सभा सकिएलगत्तै आफैं सफा गरेकाले महानगरपालिकाले सामाजिक सन्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनले बताए ।