समाचार

आजको मौसम



काठमाडौँ, १२ मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।