Banner News

बाजुरामा एमाले-माओवादी तालमेल



बाजुरा, १२ मंसिर ।  जिल्ल्लाको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

दुवै दलले ०८४ को स्थानीय निर्वाचनका लागि समेत पद बाँडफाँटको समझदारी गर्दै अहिलेको चुनावमा तालमेल गरेका हुन् । चुनावी तालमेलअनुसार उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउँदै छ । माओवादीबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । उनी एमालेकै उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न छिन् ।

स्वामीकार्तिकमा कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन् । एमाले उम्मेदवार बुढा ०७९ मा पनि उपाध्यक्षको उम्मेदवार थिइन् । स्वामीकार्तिकमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ०८० माघ ४ मा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।