काठमाडौँ, १६ मंसिर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।
मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए । “१७ गतेभित्रमा सबै नतिजा प्रकाशन गर्ने गरी आवश्यक तयारी गर्न लगाइएको छ । राजनीतिक दलका उमेदवारका प्रतिनिधिलगायत सबैले सहयोग गरिदिए समयमा नै मतगणना सकिन्छ,” उनले भने ।
उपनिर्वाचन हुन लागेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ गते राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको थपलियाले बताए । “गणना टोली, आवश्यक पर्ने रिसोर्स र सुरक्षाको व्यवस्था मिलाएका छौँ,” उनले भने, “एकभन्दा बढी वडा छन् भने जहाँ पालिकाको केन्द्र छ, त्यहीँ मतगणना हुनेछ । पालिका प्रमुख र उपप्रमुखको गणना १७ गते रातिसम्ममा सकिनेछ ।”
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । तीन पदमा सर्वसम्मत भएकाले ४१ पदमा मात्रै मतदान हुनेछ । निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्