काठमाडौँ, १६ मंसिर । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ ।
तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो ।
सोही स्थानमा २२०–१३२ केभी र १३२–११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित ४०० केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरण निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मरहरु राख्ने सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।
नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि उपकरणको जडान सुरु हुनेछ । सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्