समाचार

खुल्ला रक्तदान तथा नसर्ने रोगको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न



भक्तपुर, २२ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र राष्ट्रको लागि दुई घण्टे अभियान रहेको बताउनुभएको छ ।

आज नेप्सेम्याकको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी नेपाल दुवाकोट, आरपी रिसाईकल सेन्टर तथा नेपाल स्वच्छ वातावरण सृजना केन्द्रको सहकार्यमा आयोजित खुल्ला रक्तदान तथा नसर्ने रोगहरुको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा बोल्दै मन्त्री थापाले भक्तपुरको वातावरण स्वच्छतामा मात्र नभई नेप्सेम्याक र दुई घण्टे अभियानले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा समेत ठूलो योगदान गरेको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेप्सेम्याक र राष्ट्रको लागि दुई घण्टे अभियानले भक्तपुरको समग्र विकासमा मेरुदण्डको रुपमा स्थापित भएको छ । चाहे हनुमन्ते करिडोर होस् वा सडक, ढल, पुल, मूख्य राजमार्ग तथा अन्य शिक्षा, स्वास्थ्यमा समेत विशेष योगदान गरेको छ । जसले गर्दा तीन वटै तहका सरकारले भक्तपुरको विकास र समृद्धिमा होमिएका छन् । जनतामा आशाको किरणहरु बलेका छन् । नेप्सेम्याक र राष्ट्रको लागि दुई घण्टे अभियान भक्तपुरको पहिचान र चिनारी बनेको छ ।’

नसर्ने रोगहरुका कारण दैनिक मानिसहरुको मृत्यु भइरहेको उदाहरण दिँदै मन्त्री थापाले आफ्नो स्वास्थ्यको अवस्थामा चेकजाँच गरी जानकारी लिइरहनुपर्ने बताउनुभयो । बागमती प्रदेश सरकार सवै जनतालाई स्थास्थ्यको पहुँचमा पुर्याउने गरी काम गरिरहेको उल्लेख गर्दै मन्त्री थापाले भक्तपुरमा स्वास्थ्य क्षेत्रमा भइरहेका कार्यहरुको जानकारी गराउनुभयो । आफुलाई निर्वाचित गराउने जनताको चाहना र आवश्यकता अनुसार आफुले कार्य गर्ने उल्लेख गर्दै उहाँले भक्तपुरका जनताको शीर झुकाउने कुनै पनि कार्य हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

नेप्सेम्याकका सञ्चालक गोविन्द प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहाल, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडा, चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष सोम प्रधान, राष्ट्रको लागि दुई घण्टे अभियानका उपाध्यक्ष नरेश रञ्जित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने भक्तपुर शाखा कार्यालयका प्रवन्धक बाबुराम चौलागाईले स्वागत मन्तव्य राख्नुभयो ।

कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् भने १२८ स्वास्थ्य परिक्षण गरेका छन् । उक्त कार्यक्रम नेप्सेम्याकले विगतका वर्ष झैं नियमित कार्य भएको आयोजकले जनाएको छ । संस्था सञ्चालन गरेबापत सामाजिक उत्तरदायीत्व अन्तरगत कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।