राजनीति

पूर्वमन्त्री अधिकारीबारे दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने



काठमाडौँ, २३ मंसिर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पैसा तिरेर जापान जानेहरूलाई पक्राउ गरेर अनुसन्धानका लागि थुनामा राखेकामा उनीहरूलाई लिएर गएको आरोप लागेका मन्त्रीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिट सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले प्रक्रियामा लग्न नपर्ने भन्दै दरपिठ गरिदिएका थिए ।

दरपिठविरुद्ध त्रिपाठीले लगेको निवेदन सर्वोच्चमा बिहीबार दर्ता भएको हो । उनको निवेदनमा आज सुनुवाइ हुन लागेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी मंसिर १० गते रिहा भएका थिए ।