समाचार

एनपीएल : लुम्बिनीले चितवनलाई ३३ रनले हराएयो




काठमाडौँ, २५ मंसिर । कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ । लुम्बिनीले मंगलबारको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चितवनले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।


प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग दुई विकेटले हारेको थियो । दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय व्यहोरेको थियो । लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनले हारेको थियो ।