काठमाडौँ, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान मंगलबार एकैदिनमा सकिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्याएको छ । रास्वपा सभापति लामिछाने ५४ दिनदेखि प्रहरी हिरासतमा छन् ।
‘९० दिनभित्र अनुसन्धान प्रतिवेदन अदालतमा पठाउनुपर्नेमा स्थिति छ, तोकिएकै अवधिमा प्रतिवेदन बुझाइसक्ने गरी प्रहरीले काम गरिरहेको छ’, उनले भने ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अधिकृतले पनि लामिछानेमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुर्याइएको जनाएको छ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको भन्दै उनी ठगीमा संलग्न रहेको पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाउन लागेको छ ।
प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका रुपमा प्रहरीले पेश गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्