राजनीति

त्रिविको डीन र क्याम्पस प्रमुखको नियुक्ति रोक्न सुमना श्रेष्ठको अपिल



काठमाडौँ, २६ मंसिर । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको डीन र क्याम्पस नियुक्तिमा सत्तारुढ पार्टीहरूले भागबन्डा खोजिरहेको विषय अक्षम्य अपराध भएकाले तत्काल रोक्न जोडदार अपिल गरेकी छन् । 

योग्यता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने प्राज्ञिक क्षेत्रमा पनि दलीय भागबन्डा हुने गरेकोले नै नेपालको उच्च शिक्षा दक्ष जनशक्ति उत्पादन गर्न असक्षम भएको उनको भनाई थियो।

आज एक कार्यक्रममा बोल्दै श्रेष्ठले विश्वविद्यालयमा राजनीतिक दलीय हस्तक्षेप नरोकिएसम्म उच्च शिक्षा सुधार सम्भव नहुने पनि बताएका थिए । राजनैतिक दलहरूले नै चेतनशील र सीपसहितको जनशक्ति उत्पादन गर्ने थलोमा प्राज्ञिक दक्षता नहेरी आफ्ना दलका मान्छे राख्न भाग खोज्ने र भाग नपाउँदा विद्यार्थी सङ्गठन परिचालन गरेर अराजकता फैलाउन खोजेको उनको आरोप थियो ।

उल्टै संस्थाको श्रोतको अपचलन गरेर व्यक्तिगत र दलको फाइदाको लागि मात्र काम गर्ने प्रवृत्ति मौलाएको देखियो। यसको उदाहरण ‘त्रिविको अपचलन गरिएको जग्गा खोज्न सरकारले बनाएको समितिले प्रतिवेदन बुझाए पनि त्यो सार्वजनिक गरिएको छैन’ श्रेष्ठले भने, ‘बेथिति सुधार गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन नगर्ने उल्टै मेरिटोक्रेसीको मजाक उडाउने कामको हामीले विरोध गर्नुपर्छ।’ 

आफू शिक्षा मन्त्रालयमा हुँदाखेरि त्रिवि सेवा आयोग र विभिन्न विश्वविद्यालयमा नयाँ कार्यविधि बनाएरै उत्कृष्टताका आधारमा पदाधिकारी छनोट गरिएको उनको दाबी थियो । ‘सेटिङका आधारमा हुने नियुक्ति हटाउने मा अडिग रहेको बरु पद त्याग्छु तर राजनीतिक दलीयकरण हटाएरै छोड्छु भनेर काम गरेको हुँ, शिक्षामा दलीयकरण हटाउने मेरो प्रमुख एजेन्डा हो’ उनले भने ।