अर्थ

दाल, चामल, तेल र चिनीको मूल्य घट्यो



काठमाडौँ, १ पौष । पछिल्लो समय बजारमा दाल, चामल, तेल र चिनीको मूल्य घटेको छ ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार दसैँ, तिहारजस्ता चाडपर्वको अगाडि चामल, तेल, चिनी लगायतका खाद्यान्नको मूल्य बढेको थियो । अहिले यी सबै खाद्यान्नको मूल्य घटेको छ । 

‘अहिले दाल, चामल, तेल लगायतका खाद्यान्नमा कुनै समस्या छैन । महँगो भयो भनेर चिन्ता लिनु पर्दैन । सबैजसो खाद्यान्नको मूल्य घटेको छ,’ अध्यक्ष श्रेष्ठले भने । 

श्रेष्ठका अनुसार बजारमा २६ सय प्रतिबोरा पर्ने चामल अहिले २४ सय रुपैयाँमा झरेको छ । यस्तै प्रतिबोरा २४ सय रुपैयाँ पर्ने चामल २१ सय हाराहारीमा आएको छ । सोना मन्सुली, जिरामसिनो, त्रिशूलीको पोखरेली चामल लगायत सबै प्रकारका चामलको प्रतिबोरा डेढ सयभन्दा बढी मूल्य घटेको छ । 

श्रेष्ठका अनुसार चिनी, तेल र चामलको मूल्य पनि घटेको छ । पछिल्लो समय बजारमा चिनी प्रतिकिलो १०० रुपैयाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ । अहिले चिनीको मूल्य प्रतिकिलोमा ५ रुपैयाँले घटेको हो । 

यस्तै दाल तथा गेडागुडीको मूल्यमा पनि सुधार भएको छ । पछिल्लो समय बजारमा दाल तथा गेडागुडीको मूल्य करिब ७ प्रतिशतले घटेको छ । भारततर्फ निर्यात बढेपछि आकासिएको तेलको मूल्य अहिले घटेको छ ।