बेनी, २ पौष । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ ।
बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।
उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण शर्माले बताए । “अहिले काठमाडौँका व्यवसायीले बगैचाबाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्’’, उनले भने ।
यहाँका किसानले प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका छन् । शर्माले मात्रै यस वर्ष रु दुई लाख बढीको सुन्तला बिक्री गरे । उनका बगानमा एक सय बढी सुन्तलाका बोट छन् । गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो । मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्